विध्वंशबाट शिक्षा नलिई चुनाव हुँदा मुलुकको अवसर गुम्दैछ– घनश्याम भुसाल


९ फाल्गुन २०८२, शनिबार १५:१८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले निर्वाचन अपरिहार्य रहेको बताउनुभएको छ । 


यो निर्वाचन नेपाली जनताले चाहेको नभई संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको असाधारण परिस्थितिका कारण अपरिहार्य बनेको बताउनुभएको हो । बुटवलमा आायेजित पत्रकार सम्मेलनका क्रममा उहाँले मुलुकले सामना गरेको विध्वंशकारी घटनाबाट शिक्षा लिनुपर्ने बताउनु भयो ।

राजनीतिक पार्टीहरूको नालायकीपनलाई उजागर गरी राष्ट्रिय संकल्प गर्नुपर्ने भएपनि  त्यसो नगरी निर्वाचनमा जाने तयारीले समस्या लुकाउने काम मात्र भएको बताउनु भयो । उहाँले प्रमुख राजनीतिक नेताहरू—केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका राजनीतिक तथा आर्थिक नीतिहरूलाई नालायकीको संज्ञा दिँदै आलोचना गर्नुभयो ।

यस्ता नालायकीले मुलुकलाई सङ्कटमा पु¥याएको र इतिहासमा यसलाई स्थापित गरी भविष्यमा दोहोरिन नदिने संकल्प गर्नुपर्ने उहाँको मत छ । गौरीबहादुर कार्की नेतृत्वको आयोग जस्ता प्रक्रियाले पनि यथार्थ उजागर नगर्ने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।

भुसालले यो अवसर गुमाएर मुलुक भूराजनीतिक दबाबमा रहेको सानो राष्ट्रका रूपमा कमजोर बन्दै गएको बताउनु भयो । निर्वाचनपछि पनि पुरानै प्रवृत्ति दोहोरिने र विकासको पराश्रित बाटोले रोजगारी नदिने, विचौलियातन्त्र बलियो हुने, सुशासन नहुने चेतावनी दिनुभयो । 

उहाँले राजनीतिलाई घरेलुकरण गर्नुपर्ने, पश्चिमेली मोडेलबाट मुक्त भएर नेपाली बाटो खोज्नुपर्नेमा जोड दिनुभयो । मुलुकको मूल समस्या परनिर्भर विकास, दलाल पुँजीवाद र विचौलिया तन्त्र भएको भन्दै बौद्धिक वर्ग तथा राजनीतिकर्मीहरूलाई यस्ता प्रश्न उठाई निकास दिन आह्वान गर्नुभयो । भुसालले निर्वाचनलाई सौभाग्य माने पनि यसले मात्र संकटको निकास नदिने, गहिरो पुनर्विचार आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here