‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली


१० फाल्गुन २०८२, आईतवार ११:२० मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गर्नुभएको छ । 
झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले जित्नैपर्ने दाबी गर्नुभयो । आफ्ना पुराना राजनीतिक सहयात्रीहरू माननीय हरिवंश सिवाकोटी र डा. केआर खम्बु लगायतका पुराना नेताहरूको योगदानको स्मरण गर्दै ओलीले एमाले ५०–६० वर्षदेखि निरन्तर आन्दोलनमा रहेको र देशको भविष्य यसै पार्टीसँग सुरक्षित रहेको बताउनु भयो । 
निर्वाचन बिथोल्ने प्रयासको विरोध
अध्यक्ष ओलीले निर्वाचन रोक्ने र बिथोल्ने प्रयासहरू भइरहेको भन्दै आपत्ति जनाउनु भयो । ‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी नअल्मलीकन विजयको तयारीमा लाग्छौं ।’ उहाँले भन्नुभयो । विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको आरोप लगाउँदै उहाँले झण्डाको अपमान गर्नु निर्वाचन विरुद्धको अपराध भएको बताउनु भयो । 
एमाले सरकारका उपलब्धिहरूको चर्चा
आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै ओलीले एमाले मात्रै चुनाव जित्ने हक राख्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले हुलाकी राजमार्गको निर्माण, ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएको, साक्षरता प्रतिशतमा वृद्धि, र एकैपटक ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको स्मरण गराउनु भयो । 
‘हिजो हुलाकी बाटोमा चप्पल टाउकोमा बोकेर हिँड्नुपथ्र्यो, आज त्यहाँ आधुनिक सडक बनेका छन् ।’ उहाँले भन्नुभयो, ‘बाल मृत्युदर र सुत्केरी मृत्युदर घटाउन हामीले दुर्गमबाट हेलिकप्टरमा उद्धार गर्ने व्यवस्था शुरु ग¥यौं ।’
व्यक्तिगत निष्ठा र राष्ट्रियताको रक्षा
आफूमाथि भइरहेका प्रहारहरूको जवाफ दिँदै अध्यक्ष ओलीले देशको माया गरेको र भ्रष्टाचार नगरेकै कारण आफू निशानामा परेको बताउनु भयो । 
‘मैले ६० वर्षको राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ र गर्ने पनि छैन।’ उहाँले दृढता व्यक्त गर्नुभयो, ‘मिचिएको भूभाग फिर्ता ल्याउन थालेको र उत्तरतर्फका नाकाहरू खोलेका कारण ममाथि प्रहार भइरहेको छ ।’
उहाँले नेपाललाई जात, धर्म र भूगोलका नाममा विभाजित गर्न खोज्ने तत्वहरू विरुद्ध आफू ढाल बनेर उभिएको बताउनु भयो । एमाले कसैको कठपुतली नभएको र देशको एक इन्च जमिन पनि तलमाथि हुन नदिने उहाँको उद्घोष थियो ।
सूर्य चिन्ह र उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह
अध्यक्ष ओलीले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा मतदान गर्न मतदाताहरूलाई विशेष आग्रह गर्नुभयो । सूर्य चिन्हको धार्मिक र सांस्कृतिक महत्व दर्शाउँदै उहाँले भन्नुभयो, ‘सूर्यले जगतलाई उज्यालो, जीवन र न्यानो दिन्छ । त्यही सूर्य बोकेर हरिबहादुर आउनुभएको छ ।’
उहाँले हरिबहादुर राजवंशी एक्लो नभई उहाँको पछाडि एमालेको ‘जिम्मा जमानी’ रहेको बताउनु भयो । ‘गलत ठाउँमा छाप पर्दा देश बिग्रिन्छ, देश बनाउने हो भने सूर्य चिन्हमा मतदान गर्नुहोस् ।’ उहाँले अपिल गर्नुभयो ।
नवप्रवेशीलाई स्वागत र असन्तुष्टलाई सुझाव
कार्यक्रममा एमाले प्रवेश गरेका युवाहरूलाई स्वागत गर्दै ओलीले पार्टी छोडेर गएकाहरूलाई पनि फर्कन आग्रह गर्नुभयो । केही महिना काम गरेर पद खोज्ने प्रवृत्तिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘यो आन्दोलन व्यक्तिगत लाभका लागि होइन, देशलाई के दिने भन्ने सोचेर लाग्ने हो ।’
उहाँले आगामी फागुन २१ को निर्वाचनमा एमालेको विजय सुनिश्चित गराउन गाउँ–गाउँ र घर–घरमा राष्ट्रिय एकताको सन्देश पु¥याउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here