बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी विद्यालयले दीक्षान्त समारोह आयोजना गर्दै युकेजी उत्तीर्ण भएका आठ जना विद्यार्थीलाई सम्मान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सत्यनारायण तायलले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
विद्यालयको नवौं वार्षिक खेलकुद कार्यक्रमअन्तर्गत विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरूलाई समेत मेडल, प्रमाणपत्र, माला तथा खादा प्रदान गरी सम्मान गरिएको थियो।
उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथि तायल, सञ्चारकर्मी लवकुछ गौतम तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझालगायतको उपस्थिति रहेको थियो।
यातायात सुविधा सम्पन्न लिङ्कन मन्टेश्वरीले बालमैत्री वातावरणमा अध्ययन–अध्यापन गराउँदै आएको छ। दीक्षान्त समारोहमा सहभागी अभिभावकहरूले विद्यालयप्रति सन्तुष्टि व्यक्त गर्दै आफ्ना छोराछोरीको भविष्यप्रति ढुक्क भएको प्रतिक्रिया दिएका थिए।
विद्यालयका सञ्चालक सरोज पौडेलले बालबालिकाको मनोविज्ञानअनुसार शैक्षिक क्यालेन्डर निर्माण गरी सिकाइ प्रक्रिया सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार विद्यालयले एसेम्बलीमा स्वस्तिवाचन, सामाजिक अनुशासन तथा विभिन्न अतिरिक्त क्रियाकलाप र प्रतियोगिता मार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ।
पछिल्लो समय अभिभावकहरूको भरोसा जित्न सफल भएको उहाँको दाबी थियो। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले दीक्षित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै सबैको सहकार्यबाट शिक्षित र सभ्य समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो।
प्रमुख अतिथि सत्यनारायण तायलले साना बालबालिकाको सफलतामा सहभागी हुन पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो । हाल विद्यालयमा ८० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने तालिमप्राप्त १७ जना मन्टेश्वरी शिक्षिकाहरू कार्यरत रहेका छन्।
साथै, विद्यालयले आगामी दिनमा थप भाषामुखी तथा सीपमूलक कार्यक्रमहरू विस्तार गर्दै शिक्षणलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको जनाएको छ।
- २८७ पटक पढिएको






