नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।
बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडांैमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरुले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।
पूर्र्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्नुहुँदै बंगलादेश, श्रीलंका लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्नसक्ने बताउनु भयो । उहाँले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गर्नुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा एमविविएस प्रोग्राम शुरु गर्न लागेको जानकारी दिनुभयो ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. विम श्रेष्ठले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने बातारण बनाउनुपर्ने बताउनु भयो । त्यसका लागि बाहिरका विश्वविद्यालयले दिने सुविधाहरुले नेपालमै उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विशेष जोड दिनुपर्ने बताउनु भयो । नेपालले अब सूचना प्रविधि र एआई सम्बन्धी शिक्षा दिन विश्वमा प्रतिष्पर्धा गर्न नसक्ने उहाँको भनाई छ ।
त्रिभूवन विश्वविद्यालय पूर्वउपकुलपति डा. तीर्थ खनिँयाले अन्तर्राष्ट्रिय विश्वविद्यालय बन्न विदेशी विद्यार्थीको संख्या कति छन् भन्ने कुराले निर्धारण नगर्ने बताउनु भयो । उहाँले सिकाईको आदानप्रदान नै विश्वविद्यालयको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनु भयो । उहाँले शिक्षा मन्त्रालयलाई नेपालको विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा कुन ¥याकिङ्मा छन् भन्ने जानकारी नै रहेको बताउनु भयो । उहाँले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षामन्त्रालयलाई यी दुवै कुरा बुझाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले मन्त्रालय नै नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नलागेसम्म केही नहुने उल्लेख गनुभयो ।






