बिर्तामोडमा तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु


१९ मंसिर २०८२, बिहीबार १६:३७ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाल सितोरियो कराते डो संघको  आयोजनामा आजदेखि तीन दिने ग्रेडिङ दीक्षान्त कार्यक्रम सुरु भएको छ। 

सङ्घको वार्षिक कार्यक्रम अनुसार बिर्तामोडको महेन्द्र रत्न माविको प्राङ्गणमा आजदेखि ब्ल्याक बेल्ट फस्ट, सेकेण्ड र थर्ड डानको ग्रेडिङ दीक्षान्त सुरु भएको हो । 

ग्रेडिङ दीक्षान्तको उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य एवं नेपाल सिरतोरियो कराते डो सङ्घका केन्द्रीय सदस्य दुर्वासा कार्की (जगन)को अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारीले खेलकुदले मानिसलाई स्वास्थ्य एवं अनुशासित बनाउनुका साथै कुलतबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । उहाँले अनुशासित भएर ग्रेडिङमा सहभागी हुन खेलाडीहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा स्पोट्स फर अल कमिशन कोशी प्रदेश महासचिव सजेस शिवाकोटी, नेपाल सितोरियो कराते सङ्घ केन्द्रीय सचिव प्रेमलाल वन्जन, राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक राजु महर्जन लगायतको आतिथ्य रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौलाका अनुसार आजदेखि सुरु भएको प्रशिक्षण मङ्सिर २० गते समापन हुनेछ । प्रशिक्षणमा झापा, मोरङ र सुनसरीका १२० जना खेलाडी सहभागी छन् ।

उनीहरूलाई मुख्य प्रशिक्षकद्वय राजु महर्जन र दुर्गाराज निरौला, सहायक प्रशिक्षक कृष्ण बस्नेत, विक्रम मेचे, दिपेश निरौला, बद्री बिष्ट, राजेन्द्र राई लगायतले प्रशिक्षण दिने जनाइएको छ । खेलाडीहरूलाई प्रयोगात्मकसहित सैद्धान्तिक ज्ञान समेत प्रदान गरिनेछ ।

महेन्द्र रत्न माविका प्रधानाध्यापक खड्ग खरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन राखेप प्रशिक्षक दुर्गाराज निरौलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here