काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तिब्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको बताउनुभएको छ ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाडौंमा सम्पन्न २२ औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताउनु भयो ।
उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताउनु भयो । जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताउनु भयो । उहाँले उपत्यकाका नेवार समुदायलाई योमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।






