बिर्तामोड । झापाको बिर्तामोड–६मा अवस्थित बेष्ट फ्युचर स्कुलले आफ्नो ९औँ वार्षिक उत्सव कार्यक्रम विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालयकी संस्थापक पूजा दाहाल खरेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, फेसन शो लगायतका आकर्षक प्रस्तुति प्रस्तुत गर्दै उत्सवमय वातावरण सिर्जना गरेर दर्शक तथा अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्र खरेलले हाल विद्यालयमा २ सयभन्दा बढी विद्यार्थी अध्ययनरत जानकारी दिनुभयो । उहाँले विद्यालयले शैक्षिक गुणस्तर, विद्यार्थी अनुशासन र सिर्जनात्मक क्षमताको विकासलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं ६ का वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्वाले विद्यालयले शिक्षा उन्नतिमा पु¥याइरहेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले “बेष्ट फ्युचर स्कुलले शैक्षिक क्षेत्रमा देखाएको प्रगति प्रशंसनीय रहेको बताउँदै विद्यार्थीसँगै अभिभावक र समुदायलाई जोडेर अघि बढेको यस विद्यालयको प्रयासले स्थानीय शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथी जिल्ला प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, जिल्ला सदस्य देवेन्द्र हुमागाई, हिसान झापाका उपाध्यक्ष उत्तम खनाल, बालबालिका तथा शिक्षा सञ्चार मञ्च संयोजक सरोज पौडेल, प्याब्सन बिर्तामोड नगर कोषाध्यक्ष प्रमिला बजगाई, सचिव दिपाङ्कर मैनाली, महाधिवेशन प्रतिनिधि एजाज अहमद अन्सारी र रहमद अन्सारी तथा स्थानीय टोल विकास समितिका पदाधिकारी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






