बाढी बीमामा किसानको आकर्षण बढ्दो: जलमापन केन्द्रमा जल सतह बढ्ने बित्तिकै किसानको खातामा पैसा


१९ मंसिर २०८२, बिहीबार १४:५८ मा प्रकाशित


काठमाडौं । पछिल्ला वर्षहरुमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्शानी गरेको छ । सबै भन्दा बढी थन्क्याउन ठिक्क भएको धानबाली नोक्शानी भइरहेको छ । यही आर्थिक वर्षमा मनसुन सकिन लाग्दा असोज १७, १८ र १९ गते देशभर परेको वर्षाका कारण मुलुकभर साढे ३ अर्ब रुपैयाँ बराबरको अन्नबाली नोक्शानी भयो ।

कृषि तथा पशुपंक्षी मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीकाअनुसार धान, तरकारी, उखु तथा माछा पोखरीमा पुगेको क्षति साढे ३ अर्ब रुपैयाँ बराबरको छ । हरेक वर्ष पाक्न लागेको धानमा बर्षाले क्षति पुर्‍याउने गरेको छ ।

बाली बीमाको बारेमा मनसुनी चर्चा हुने गरेको भएपनि सबै किसान बीमामा आवद्ध छैनन् । सरकारसँग अन्नबाली तथा पशुपंक्षी बीमा योजना छ । यस्तो बीमाले किसानको बालीमा भएको क्षतिको ९० प्रतिशत सम्म क्षति बहन गर्ने सूचना अधिकारी जोशीले बताउनु भयो ।


बीमा कार्यक्रमबाट किसान खुशी बीमाबाट क्षतिको जोखिम हस्तान्तरण गर्न पाएपछि किसान खुशी छन् । धानबालीमा भएको क्षति बापत् राहत पाउने भएपछि बीमा गर्न थालेको राजापुर ३ नंगापुरका किसान बनिया थारुले बताउनु भयो । 

गाउँपालिकामा विपद् जोखिम बीमा सञ्चालन कार्यविधि २०८२ अनुसार जोखिमका किसानलाई बीमा कार्यक्रममा सहभागी गराईन्छ । वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्रप्रसाद जैसीले नीति बनेपछि किसानलाई नोक्शानीअनुसार रकम उपलब्ध गराउन सहज भएको बताउनु भयो  ।

उहाँले भन्नुभयो “ धान काट्ने बेलामा पानी पर्छ कि पर्दैन रु भन्ने बारेमा किसानको धेरै चासो हुने गरेको थियो, अहिले अटोमेटिक मोबाइलमा म्यासेज आउँछ, यसले सजिलो बनाएको छ । अनलाईनमार्फत पनि काम भइरहेको छ । हामीले पनि सँगैसँगै काम गरिरहेका छौं । ” राजापुर नगरपालिकामा पनि यस्तो नीतिको मस्यौदा अन्तिम चरणमा रहेको छ ।


बर्दियाको राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् सम्पर्क व्यक्ति खुशीराम थारुले स्थानीय सरकारले बीमा कार्यक्रममा जोडिन किसानलाई सहजीकरण गरेको बताउनु भयो । बाढी बीमालाई व्यवस्थित बनाउन नीति बनाउने तयारीमा लागेको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल सरकारले तोकेको धानको समर्थन मूल्यका आधारमा तय गरिने बीमा रकम १ बिगाहा क्षेत्रफलका लागि ९४ हजार एक सय ८० रुपैयाँ र प्रति कठ्ठा ४ हजार ७ सय ९ रुपैया बीमाङ्क रकम तोकिएको छ । बीमा शुल्क भने नेपाल बीमा प्राधिकरणको नियमन र स्वीकृतिमा बीमाङ्क रकमको ७ प्रतिशत तय गरिएको छ । जसअनुसार बीमा शुल्क प्रतिबिगाहा ६ हजार ५ सय ९२ र प्रति कठ्ठा ३ सय २९ रुपैयाँ हुन जान्छ ।


सूचकांकमा आधारित बाढी बीमाको रकम लिन कुनै सिफारिस वा बाढी पछिको लेखाजोखाको आवश्यकता नपर्ने हुँदा अन्य बीमा भन्दा बढी विश्वासिलो, भरपर्दो र सबैको पहुँचयोग्य छ । त्यसैले बाढी बीमा कार्यक्रम न्युन आय भएका र बाढी जोखिमयुक्त क्षेत्रका किसानका लागि प्रभावकारी बनेको छ ।

जलवायु परिवर्तनका कारण मनसुनी वर्षामा देखिएको बदलावबाट आउने अस्वभाविक बाढीले धानबालीमा पुग्ने क्षति तथा हानीनोक्शानीबाट किसानलाई राहत दिनका लागि पनि यो बाढी बीमा कार्यक्रमलाई मुलुकभर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यस्तै बीमा योजना अन्य जलवायुजन्य प्रकोप र किसानका सम्पतीहरुमा समेत लागू गर्नसके झनै प्रभावकारी हुने देखिन्छ । अझ, विकासशील देशहरुले सामना गर्दै आएको जलवायुजन्य प्रकोपबाट हुने क्षति र जलवायु वित्तको आवश्यकताको सन्दर्भमा त झन बीमाको माध्यमबाट जोखिम हस्तान्तण गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here