काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको समुपस्थतिमा बुधवार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो । जापानले उक्त आयोजनाका लागि करिव ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।
जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि.राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । ऋण सहायतासँग सम्बन्धित एक्सचेञ्ज अफ नोटिसमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदुत मायदा तोरुले हस्ताक्षर गर्नुभयो ।
त्यस्तै ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि श्री मित्सुजाकी माजुकीले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।






