यस वर्ष भाईमसलाको मूल्य ३० प्रतिशतले वृद्धि


१६ कार्तिक २०८१, शुक्रबार १७:३७ मा प्रकाशित

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।


काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।

भाई मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिव ३० प्रतिशतले बढ्न गएको बताउनु भयो ।

उहाँले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताउनु भयो । मूल्य बढेकाले यस पटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । 

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन । 
ग्राहकहरुको भनाई छ, ‘पोहोरको तुलनामा यस पटक हरेक समानको भाउ बढेको छ । व्यापारीहरुले मिलाएर दिनुभए ग्राहकहरुलाई सजिलो हुने थियो ।’ 


बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ ।

तर सबै सामग्रीमा करिव २५/३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् । 

भाई मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here