७५ प्रतिशत एमाले मैले निर्माण गरेको हुँ, बुद्धि कमजोर भएर बाहिर बसेँः वामदेव गौतम


५ कार्तिक २०८१, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा(एमाले)को ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको छ ।


सोमवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले एमालेको ७५ प्रतिशत पार्टी निर्माण आफूले गरेको दाबी गर्नुभएको हो । उहाँले आफ्नो बुद्धि कमजोर भएका कारण अहिले एमाले बाहिर बस्नुपरेको पनि बताउनु भयो ।

उहाँले विगतमा चितवनस्थित नारायणघाटमा पहिरो गएपछि दुई महिनासम्म काठमाडौं जोड्ने स्थलमार्ग बन्द गर्न आफुले आग्रह गरेको भएपनि सरकारले नसुनेका कारण पछिल्लो विपद्मा क्षति भोग्नुपरेको बताउनु भयो ।

उहाँले आफूले अध्ययन गरेर पुनः विपद् आउँदैछ भनेर राष्ट्रिय सभा बैठकमै सरकारलाई सजग गराएको भएपनि कुरा नसुनिएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीलाई नेपालको भौगर्भिक अवस्थाको अध्ययन गर्न आग्रह गर्नुभयो । 

राष्ट्रिय सभा सदस्य गौतमले सहकारीको रकम भ्रष्टाचार गर्नेहरुलाई निर्मम तरिकाले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सहकारीको रकम दुरुपयोग भइरहेकाले अब सहकारीहरुलाई नै बन्द गर्नुपर्ने धारणा राख्नुभयो । 

उहाँले जमिन राज्यको मातहतमा नआएसम्म विकास हुन नसक्ने भन्दै नेपालको सम्पूर्ण जमिन राज्यको मातहतमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले क्षतिपूर्ति दिएर जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here