पुँजीको सकसमा रहेका बैंकका लागि पुँजी सहज बनाउन सरकारसँग बैंकर्स संघको माग


२ श्रावण २०८१, बुधबार १२:५४ मा प्रकाशित

नेपाल बैंकर्स संघले पुँजीको सकसमा रहेका बैंकहरुका लागि पुँजी सहज बनाउन सरकारसँग माग गरेको छ । मंगलवार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा बैंकर्सहरुले यस्तो माग गरेका हुन् । बैंकर्सहरुले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीकोषमा सकसमा रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता प्रदान गर्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने माग राखेका छन् ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ अनुसार बैंकहरुले जोखिम भारित सम्पतीको ४.५ प्रतिशत कमन इक्विटी क्यापिटल र थप २.५ प्रतिशत पुँजी संरक्षण बफर कायम गर्नुपर्ने व्यवस्था रहेको छ । त्यस्तै बैंकहरुले १.५ प्रतिशत (अतिरिक्त प्राथमिक पुँजी)सहित प्राथमिक पुँजीकोष अनुपात न्युनतम ८.५ प्रतिशत कायम राख्नुपर्छ भने २.५ प्रतिशत पूरक पुँजी जोडेर ११ प्रतिशत पुँजीकोष बैंकहरुसँग हुनुपर्ने व्यवस्था छ ।

त्यसमा आगामी मौद्रिक नीतिमार्फत अतिरिक्त पुँजी जुटाउनको लागि सहज नीति सरकारले लिनुपर्ने  बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले माग गर्नुभयो । बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोईरालाले पुँजी सकसको कारण लगानी बिस्तारमा समस्या रहेको भन्दै मौद्रिक नीतिमार्फत सहजिकरण गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी मौद्रिक नीतिमा पुँजीकोषमा सकस रहेका बैंकहरुलाई अतिरिक्त पुँजी सहजता गर्ने विषयलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले मौद्रिक नीतिले पुँजी सकसको समस्या सहजिकरण गर्दा बैंकर्सको मनोबल बढ्ने बताउनु भयो । अब स्थिर सरकार बन्ने भएको भन्दै उहाँले बैंकर्सहरुमा पनि आशा जगाएको बताउनु भयो । उहाँले सरकारले बैंकर्स,उद्योगी व्यवसायीदेखि सर्वसाधरणको मनोबल बढाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारले मनोबल बढाउने नीति लिन जरुरी रहेको बताउनु भयो । सरकारले बैंकहरुलाई कर्जा प्रवाह र निजी क्षेत्रले कर्जा लिनसक्ने वातावरण सिर्जना गरे तत्कालिन अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्या समाधान हुने आशा व्यक्त गर्नुभयो ।

बैंकर्सहरुले बैकिङ क्षेत्रमा वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न सदैव तत्पर रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here