काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली कामदारबाट रकम ठगी तथा विदेशी मुद्रा अपचलनमा सहयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार पक्राउ गरेको हो।
पोखरेल यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत थिए। मन्त्रालयमा रहँदा भएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।
यस प्रकरणमा सीआईबीले तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ रहेका छन्।
मलेसिया जाने कामदारबाट रकम असुली तथा विदेशी मुद्रा अपचलन गर्ने कार्यमा सहयोग गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। यसअघि यही प्रकरणमा व्यवसायी कैलाश खड्कालगायत व्यक्ति पनि पक्राउ परिसकेका छन्।