Thursday, 19 November 2026
Suryodaya Online
३ मंसिर २०८३, बिहीबार
विज्ञापन

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न औषधि व्यवस्था विभागको आग्रह

Suryodaya Online TV

काठमाडौं । एन्टिबायोटिकको जथाभावी प्रयोगले सामान्य संक्रमणसमेत उपचार गर्न कठिन बन्दै गएको भन्दै औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना प्रतिजैविक औषधि प्रयोग नगर्न आग्रह गरेको छ ।

प्रतिजैविक सचेतना सप्ताह सुरु भएको अवसरमा बुधबार विभागका महानिर्देशक भरत भट्टराईले सन्देश जारी गर्दै एन्टिबायोटिकको अनावश्यक प्रयोग र दुरुपयोगले प्रतिरोध क्षमता बढ्दै गएको र यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका छन् ।

उनले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यमा मात्रै सीमित नरहेको भन्दै पशुपन्छी, कृषि, खाद्य सुरक्षा र वातावरणमा समेत असर पुगिरहेको उल्लेख गरेका छन् । यसलाई नियन्त्रण गर्न सबै क्षेत्रबीच समन्वय र निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म मनाइने प्रतिजैविक सचेतना सप्ताहको यस वर्षको नारा ‘एक स्वास्थ्य, एक अभियानः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम गरौँ’ रहेको छ ।

विभागले प्रतिजैविक औषधि चिकित्सकको सल्लाहअनुसार निर्धारित मात्रा र अवधिमा मात्रै सेवन गर्न, संक्रमण रोकथामका उपाय अपनाउन, सरसफाइमा ध्यान दिन तथा खोपको प्रवर्द्धन गर्न आग्रह गरेको छ ।

प्रतिजैविक औषधिको बिक्री वितरणलाई व्यवस्थित बनाउन विभागले चिकित्सकीय सिफारिसबिना औषधि बिक्री नगर्ने व्यवस्था कार्यान्वयनमा निगरानी गर्दै आएको जनाएको छ । निश्चित समूहका एन्टिबायोटिक अस्पतालका फार्मेसीबाट मात्रै बिक्री वितरण गर्ने व्यवस्था प्रभावकारी बनाउन पनि अनुगमन भइरहेको विभागले जनाएको छ ।

प्रतिजैविक औषधिको खपतसम्बन्धी तथ्याङ्क संकलन, औषधिको गुणस्तर र प्रभावकारिता सुनिश्चितता तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिवेदन गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको विभागले जनाएको छ ।

प्रतिजैविक प्रतिरोधबारे जनचेतना फैलाउने उद्देश्यले सप्ताहको पहिलो दिन बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सिंहदरबारदेखि औषधि व्यवस्था विभागसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private