काठमाडौं । नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारसम्बन्धी समझदारी उल्लंघन गरी गैरकानुनी रूपमा रकम संकलन तथा विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन उच्च अधिकारी तथा अन्य व्यक्तिलाई ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
प्रहरी अनुसन्धानअनुसार नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णय भएको थियो । उक्त निर्णय प्रक्रियामा कानुनी व्यवस्था र सम्झौताको सीमाभन्दा बाहिर गएर अधिकारको दुरुपयोग गरिएको आरोप छ ।
पक्राउ पर्नेमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगारसँग सम्बन्धित निकायबाट प्राप्त पत्र तथा विकास रनाभाटको जाहेरीसहितका आधारमा अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ ।
प्रहरीका अनुसार गैरकानुनी रूपमा संकलित रकम कानुनी उपचारको प्रक्रिया पूरा नगरी मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा अदालतबाट पक्राउ अनुमति लिइएको थियो । मंसिर २ गते अनुमति प्राप्त भएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।