काठमाडौं । सूर्य नेपाल प्रालि आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसर पारेर सूर्य नेपालसहित विभिन्न क्षेत्रका २० कम्पनी र एक व्यक्तिगत करदातालाई उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ ।
आन्तरिक राजस्व विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १९ विधामा छनोट भएका करदातालाई सम्मान गरेका हुन्। गत वर्ष १६ विधामा सम्मान प्रदान गरिएकोमा यस वर्ष तीन विधा थप गरिएको विभागले जनाएको छ ।
उत्कृष्ट करदाताको सूचीमा बैंकिङ क्षेत्रबाट नबिल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज र पर्यटन क्षेत्रबाट सोल्टी होटल परेका छन्। वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल र वस्तु व्यापारतर्फ सीजी इम्पेक्स सम्मानित भएका छन्।
त्यस्तै, एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड र विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल उत्कृष्ट करदाता घोषित भएका छन्।
बीमा क्षेत्रमा जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्मान पाएका छन्। लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त वित्तीय संस्था र व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित भएका छन्।
मूल्य अभिवृद्धि कर (भ्याट) सबैभन्दा बढी दाखिला गर्ने कम्पनीका रूपमा हिमालयन डिस्टिलरी छनोट भएको छ। कारोबारको आकारका आधारमा ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको समूहमा फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर तथा ५० करोड रुपैयाँसम्मको समूहमा इम्पेरियल सेक्युरिटिज कम्पनी उत्कृष्ट ठहरिएका छन्।
व्यापारिक उत्थानशीलता र विशेष योगदानका लागि भाटभटेनी सुपरमार्केटलाई पनि सम्मान गरिएको छ ।
विभागका अनुसार सूर्य नेपालले गत आर्थिक वर्षमा अन्तःशुल्क, भ्याट र आयकरसमेत गरी करिब ३७ अर्ब रुपैयाँ राजस्व दाखिला गरेको छ। भाटभटेनी सुपरमार्केटले भने एक अर्ब रुपैयाँभन्दा बढी भ्याट र आयकर बुझाएको जनाएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले उत्कृष्ट करदाता सम्मानले कर सहभागिता बढाउनुका साथै व्यावसायिक पारदर्शिता र कर तिर्ने संस्कृतिको विकासमा सहयोग पुग्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्रले आर्थिक मन्दी, उत्पादन लागत वृद्धि र नीतिगत अस्थिरताजस्ता चुनौती सामना गरिरहेको बताए। उनले लगानी प्रोत्साहनका लागि लगानीमैत्री कर प्रणाली आवश्यक रहेको धारणा राखे ।