विराटनगर । दमक नगरपालिकाले ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी प्रत्येक तीन महिनामा घरमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा दिँदै आएको छ ।
नगर प्रमुख राम थापाले विराटनगरमा मंगलबार आयोजित अपाङ्गता समावेशी विकाससम्बन्धी कार्यशालामा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य र क्षमता विकासका लागि गरेका कामबारे जानकारी दिएका हुन् ।
उनका अनुसार अपाङ्गता रोकथामका लागि करुणा फाउन्डेसनसँगको सहकार्यमा नगरपालिकाले करिब ३ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकासमा ४० लाख र अटिजम भएका व्यक्तिहरूका लागि २० लाख रुपैयाँ खर्च गरिएको छ ।
परिवारमा एक जना अपाङ्गता भएका व्यक्ति हुँदा सिंगो परिवारले विभिन्न समस्या भोग्नुपर्ने अवस्था रहेको बताउँदै थापाले नगरपालिकाले सीप तथा क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
द एशिया फाउन्डेसनको सहकार्यमा सञ्चालित पाँच वर्षे ‘स्थानीय शासनमा अपाङ्गता समावेशीकरण परियोजना’ अन्तर्गत आयोजित वार्षिक समीक्षामा विराटनगर महानगरपालिका र दमक नगरपालिकाले लैंगिक समानता तथा अपाङ्गता सामाजिक समावेशीकरणका लागि गरेका काम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख मनोहरकुमार पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र न्यायका विषयमा प्रस्तुति दिएका थिए । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका कार्यक्रम संयोजक सरोज नेपालीले परियोजनाअन्तर्गत भएका गतिविधिबारे जानकारी गराएका थिए ।