Tuesday, 17 November 2026
Suryodaya Online
१ मंसिर २०८३, मंगलबार
विज्ञापन

पूर्वाञ्चल दैनिकले पूरा गर्‍यो ३१ वर्षको गौरवमय यात्रा, नयाँ प्रविधि र पत्रकारिताको प्रतिबद्धतासहित ३२औँ वर्षमा प्रवेश

Dev Baskota

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक ३१ वर्षको यात्रा पूरा गरी आजदेखि ३२औँ वर्षमा प्रवेश गरेको छ। स्थानीय सरोकार, क्षेत्रीय आवाज र राष्ट्रिय महत्वका विषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको पत्रिकाले विभिन्न चुनौतीका बीच आफ्नो प्रकाशन यात्रालाई निरन्तरता दिएको हो।

२०५२ साल मङ्सिर १ गतेदेखि नियमित प्रकाशन सुरु गरेको पूर्वाञ्चल दैनिकले तीन दशकभन्दा लामो अवधिमा पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। स्थापनाकालमा सीमित लेटर प्रेस प्रविधिबाट सुरु भएको पत्रिकाले मोफसलमै पहिलोपटक अत्याधुनिक अफसेट प्रविधि भित्र्याएर प्रकाशन क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेको थियो।

श्रीअन्तु प्रकाशन प्रालिअन्तर्गत प्रकाशित पूर्वाञ्चल दैनिकले प्रेस काउन्सिल नेपालबाट निरन्तर ‘क’ श्रेणी प्राप्त गर्दै आएको छ। समय र प्रविधिको विकाससँगै पत्रिकाले आफ्नो प्रकाशन शैलीलाई परिमार्जन गर्दै प्रिन्ट संस्करणसँगै डिजिटल माध्यमबाट समेत समाचार सामग्री प्रकाशन गर्दै आएको छ। आफ्नै अनलाइन पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली पाठकमाझ समाचार पुर्‍याउँदै आएको छ।

३२औँ वर्ष प्रवेशको अवसरमा संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पत्रिकाको यात्रामा सहयोग गर्ने पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

व्यवस्थापक चन्द्रकान्त ढकालले पाठक, विज्ञापनदाता र सहकर्मीहरू नै संस्थाका प्रमुख आधारस्तम्भ रहेको बताउँदै बदलिँदो समयअनुसार प्रकाशनका सेवा र प्रविधिलाई थप विस्तार गरिने जानकारी दिएका छन्। उनका अनुसार आगामी दिनमा अनलाइन माध्यमलाई थप प्रभावकारी बनाउँदै भिडियो सामग्री, श्रव्यदृश्यसहितका समाचार बुलेटिन तथा विभिन्न कार्यक्रम प्रसारण गर्ने योजना रहेको छ।

त्यस्तै, सहसम्पादक नरेन्द्र ढकालले मोबाइलबाटै ताजा समाचार, अपडेट तथा रंगीन ई–पेपर पढ्न सकिने सेवा विस्तार भएपछि नयाँ पुस्ताका पाठकमाझ पत्रिकाको पहुँच बढ्दै गएको बताए।

विभिन्न राजनीतिक परिवर्तन, आर्थिक तथा सामाजिक उतारचढाव र प्राकृतिक विपत्तिका बीच पनि प्रकाशनलाई निरन्तरता दिन सफल मोफसलका सञ्चारमाध्यममध्ये पूर्वाञ्चल दैनिक अग्रणी पत्रिकाका रूपमा स्थापित छ। प्रधान सम्पादक एकराज गिरीले पाठकहरूको निरन्तर विश्वास र विज्ञापनदाताहरूको सहयोगले पत्रिकालाई यो स्थानसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताए।

कोशी प्रदेशका विभिन्न जिल्लामा वितरण हुँदै आएको पत्रिकाले स्थानीय सरकार, विकास निर्माण, सामाजिक अभियान, व्यापार–व्यवसाय, कला तथा संस्कृतिलगायतका विषयलाई प्राथमिकताका साथ समेट्दै आएको छ।

आगामी दिनमा नयाँ पुस्ता, नयाँ प्रविधि र नयाँ युगको पत्रकारितालाई आत्मसात् गर्दै राष्ट्रहितका विषयमा पैरवी गर्ने तथा समाजलाई जिम्मेवार र जवाफदेही बनाउन खबरदारीको भूमिका अझ प्रभावकारी बनाउने प्रतिबद्धता पत्रिकाले व्यक्त गरेको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private