Tuesday, 17 November 2026
Suryodaya Online
१ मंसिर २०८३, मंगलबार
विज्ञापन

आजदेखि विराटनगरमा रात्रीकालीन व्यवसाय राति २ बजेसम्म खुल्ने

Suryodaya Online TV

विराटनगर । विराटनगर क्षेत्रमा आज (मंसिर १) देखि रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले ‘मोरङ जिल्लाको विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ पारित गरेपछि व्यवसाय सञ्चालनको बाटो खुलेको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार मापदण्डअनुसार राति १० बजेसम्म सञ्चालन हुने व्यवसायले छुट्टै अनुमति लिनुपर्ने छैन। तर, राति १२ बजेसम्म सञ्चालन गर्न चाहने किराना, पान, मिठाई, चिया, आइसक्रिम पसल, रेस्टुरेन्ट तथा खाना–खाजा पसलले भने प्रशासनबाट अनुमति लिनुपर्नेछ।

त्यस्तै, लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को, लाउन्ज बार, दोहोरी तथा गजल रेस्टुरेन्ट राति २ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। यसका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस र आवश्यक चेकलिस्टसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ। अनुगमन समितिको स्थलगत निरीक्षणपछि मात्र अनुमति दिइने व्यवस्था गरिएको छ।

मापदण्डले व्यवसाय सञ्चालनको समयसँगै सुरक्षा, ध्वनि नियन्त्रण र श्रमिकको सुविधालाई समेत प्राथमिकता दिएको छ। मनोरञ्जनात्मक व्यवसायले साउन्ड प्रुफ भवन तथा साउन्ड कन्ट्रोल सिस्टम जडान गर्नुपर्नेछ। ध्वनि प्रदूषणका कारण छिमेकीलाई असर पुगे अनुमति रद्द गर्न सकिने व्यवस्था छ।

त्यस्तै, प्रवेश तथा निकासद्वार र सडक क्षेत्र देखिने गरी सीसीटीभी जडान, परिसर र बाहिर १०० मिटरसम्म प्रकाशको व्यवस्था, अग्नि नियन्त्रण उपकरण, आपत्कालीन द्वार, पार्किङ र सुरक्षा गार्ड अनिवार्य गरिएको छ। मादक पदार्थ सेवन गरेका ग्राहकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन न्यूनतम शुल्कमा यातायातको व्यवस्था पनि व्यवसायीले गर्नुपर्नेछ।

डान्सबार, पब, डिस्को तथा दोहोरीमा १८ वर्षमुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ। सुर्तीजन्य पदार्थ र मदिरा बिक्रीमा पनि उमेरसम्बन्धी प्रतिबन्ध लागू हुनेछ। मदिरा पसल भने बिहान १० बजेदेखि राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। होटल तथा मनोरञ्जन स्थलमा दिउँसो १२ बजेअघि र राति तोकिएको समयपछि मदिरा बिक्री तथा सेवन गराउन पाइने छैन।

श्रमिकको हकमा नियुक्तिपत्र, बैंकिङ प्रणालीमार्फत तलब, जोखिम बिमा तथा रातिको खाना र यातायातको व्यवस्था गर्नुपर्नेछ। महिला श्रमिकका लागि सुरक्षित चेन्जिङ रुम र स्तनपान कक्ष अनिवार्य गरिएको छ। कर्मचारीले कामको समयमा मदिरा सेवन गर्न, ग्राहकसँगै बसेर खानपिन गर्न तथा उत्तेजक पोशाकमा नाचगान गर्न नपाउने व्यवस्था पनि मापदण्डमा समेटिएको छ।

राति १० बजेपछि सेवा लिन बाहिर निस्कने ग्राहकले अनिवार्य परिचयपत्र बोक्नुपर्नेछ। मापदण्ड विराटनगरको केशलिया र सिंघिया खोला क्षेत्र, उत्तरमा स्वागत गेट (ढाट) र दक्षिणमा रानीसम्म लागू हुनेछ। मापदण्ड कार्यान्वयन भए–नभएको अनुगमन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिले गर्नेछ। आकस्मिक निरीक्षणका क्रममा मापदण्ड उल्लंघन गरेको पाइए रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गर्नुका साथै प्रचलित कानुनअनुसार थप कारबाही गरिने प्रशासनले जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private