काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि कर तथा विवरण दाखिला नगरेका र कर विवादमा रहेका करदातालाई सरकारले दिएको छुट तथा सहुलियत उपयोग गर्न आग्रह गरेका छन्।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले आर्थिक ऐनमार्फत ल्याइएका कर छुटका योजनाबाट लाभ लिन करदातालाई आग्रह गरे।
कर विवाद समाधानका क्रममा सरकारले ठूलो रकम बराबरको राहत उपलब्ध गराएको उल्लेख गर्दै उनले यस्ता सुविधा पटक–पटक नआउने बताए। शुल्क, दस्तुर, थप दस्तुर तथा जरिवानाका कारण समस्यामा परेका करदातालाई राहत दिने उद्देश्यले विशेष सहुलियत ल्याइएको उनको भनाइ थियो।
कर छुट तथा सहुलियतका योजनाबारे पर्याप्त प्रचारप्रसार हुन नसकेको भन्दै उनले आन्तरिक राजस्व विभागलाई करदातासम्म सूचना पुर्याउन पनि आग्रह गरे।