विराटनगर । सरकारले जग्गा लिएर पनि अस्पताल निर्माणको काम अघि नबढाएको भन्दै ओखलढुङ्गाका चार जना स्थानीय बासिन्दा अनशनमा बसेका छन्।
मानेभञ्ज्याङ गाउँपालिका–७ का अर्जुनकुमार गौतम, माधवप्रसाद ढुङ्गाना, लक्ष्मण भुजेल र शारदाप्रसाद गौतम कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि अनशनमा बसेका हुन्।
१५० शय्याको अस्पताल तथा मेडिकल कलेज निर्माण गर्ने योजनाका लागि स्थानीयले २०७७ सालमा ३३ परिवारमार्फत १६७ रोपनी जग्गा निःशुल्क रूपमा प्रदेश सरकारको नाममा पास गरिदिएका थिए। तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन।
अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका संयोजक माधवप्रसाद ढुङ्गानाले बताए। उक्त अस्पताल निर्माणको प्रारम्भिक लागत ८९ करोड ५२ लाख रुपैयाँ अनुमान गरिए पनि अहिले बढेर करिब दुई अर्ब रुपैयाँ पुग्ने आकलन गरिएको छ।