काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले धार्मिक पर्व हरिबोधिनी एकादशीका कारण प्रदेश अधिवेशनको कार्यतालिका एक दिन पछाडि सारेको छ । मंसिर ४ गतेदेखि सुरु हुने भनिएको अधिवेशन अब मंसिर ५ गते गण्डकी प्रदेशबाट सुरु हुनेछ ।
सचिवालय समितिका संयोजक दीपक कुईंकेलका अनुसार मंसिर ७ गते लुम्बिनी, १३ गते कर्णाली, १४ गते मधेस, १५ गते सुदूरपश्चिम, १७ गते कोसी र १९ गते वाग्मती प्रदेशको अधिवेशन हुनेछ । सबै प्रदेश अधिवेशनमा देउवा सहभागी हुनेछन् ।
देउवा पक्षले महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ । निर्वाचन क्षेत्रबाट ३८ जनाका दरले प्रतिनिधि, ३०० मनोनीत, भ्रातृ संस्थाबाट २०० र जनसम्पर्क समितिबाट २०० प्रतिनिधिसहित स्थानीय तहका प्रमुख तथा अन्य प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
असोज १५ गतेदेखि महाधिवेशनका कार्यक्रम सुरु गरेको देउवा पक्षले हालसम्म ४६ जिल्ला र १४० निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ । प्रदेश अधिवेशनपछि महाधिवेशनको तयारीलाई थप तीव्रता दिने उसको योजना छ ।