Monday, 16 November 2026
Suryodaya Online
३० कात्तिक २०८३, सोमबार
विज्ञापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न, आस्था र सद्भावको सन्देश

Suryodaya Online TV

विराटनगर । सूर्य उपासनाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छठ पर्वको अन्तिम दिन विराटनगरका विभिन्न जलाशयमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको थियो ।

विराटनगरको सिंघिया, केसलिया, नहर तथा पोखरीहरूमा बिहानैदेखि व्रतालु र भक्तजनहरू भेला भएका थिए । उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिँदै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरे । यसअघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसेका व्रतालुहरूले बिहानको पूजासँगै आफ्नो व्रत सम्पन्न गरेका हुन् ।

प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा परिचित छठले सूर्य र जलको महत्त्वलाई उजागर गर्छ । कठोर व्रत, शुद्धता, संयम र निष्ठासँग जोडिएको यस पर्वले मानव जीवनमा अनुशासन, सद्भाव, सहिष्णुता र सहअस्तित्वको भावना विकास गर्न प्रेरित गर्छ ।

छठमा व्रत बसेर सूर्यदेव र छठी माताको पूजा गरे दुःख, कष्ट तथा दरिद्रता हट्ने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विशेषगरी सन्तानको दीर्घायु, परिवारको कल्याण र सुख–समृद्धिको कामना गर्दै महिला तथा पुरुष दुवैले यो व्रत बस्ने परम्परा छ ।

पहिले तराई–मधेशका सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ । विराटनगरसहित देशका विभिन्न सहर तथा गाउँमा नदी, पोखरी र जलाशयका किनारमा सामूहिक रूपमा छठ मनाउने प्रचलन बढ्दै गएको छ । धार्मिक आस्थासँगै सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी सद्भावको प्रतीक बनेको छठले यस वर्ष पनि उल्लासमय वातावरणमा बिदाइ पाएको छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private