विराटनगर । सोलुखुम्बुको आमादब्लम बेसक्याम्पबाट दिङ्बोचे जाने क्रममा हिमपातमा परेर बाटो बिराएका एक स्पेनिस नागरिकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
खुम्बुपासाङल्हामु गाउँपालिका–४ स्थित बनाना लेक क्षेत्रमा आइतबार साँझ ती नागरिक बाटो बिराएर अलपत्र परेका थिए । रातको समय र हिमपातका कारण गन्तव्यतर्फ जान नसकी अलपत्र परेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी तथा उद्धार अभियान सञ्चालन गरेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझ करिब ७ बजे अलपत्र परेको सूचना प्राप्त भएको थियो । त्यसपछि खोजीमा खटिएको प्रहरी टोलीले करिब दुई घण्टापछि उनलाई सकुशल फेला पारी उद्धार गरेको हो ।