बिर्तामोड। कनकाई नगरपालिका–९ घैलाडुव्वास्थित बिरिङ नदी किनारमा घैलाडुव्वा छठ पूजा समितिले यस वर्ष भव्य रूपमा छठ पूजा आयोजना गरेको छ।
घैलाडुव्वाबाट चम्पापुर जाने सडक छेउस्थित बिरिङ नदीको पश्चिमी किनारमा कार्तिक २९ गते आइतबार साँझदेखि ३० गते सोमबार बिहानसम्म छठ पूजा गर्ने तयारी गरिएको समितिका अध्यक्ष उमेश कर्णले जानकारी दिए।
उनका अनुसार यस वर्ष छठ पूजाका लागि बिरिङ नदी किनारमा ३४ वटा घाट निर्माण गरिएको छ। ती घाटमा करिब एक सय परिवारले छठ पूजा गर्नेछन्। विगतका वर्षभन्दा यस वर्ष अझ भव्य रूपमा पर्व मनाउने तयारी गरिएको उनले बताए।
छठ पूजाको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने भएको छ। कार्तिक २९ गते आइतबार अपराह्न ३ बजेदेखि राष्ट्रिय कलाकार सुमित ढकालको भजन प्रस्तुति तथा राष्ट्रिय र स्थानीय कलाकारको सहभागितामा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष कर्णले जानकारी दिए।
यस वर्ष विभिन्न जातजातिका झाँकीसमेत प्रदर्शन गरिने भएकाले भक्तजनको उल्लेखनीय सहभागिता रहने समितिका सचिव बरुण साहले बताए। छठ पूजामा सहभागी हुन आउने भक्तजनका लागि समितिले प्रसादको व्यवस्थासमेत गरेको उनले जानकारी दिए।
घैलाडुव्वा छठ पूजा समितिका अध्यक्ष उमेश कर्णको अध्यक्षता तथा कनकाई नगरपालिका–९ का वडाध्यक्ष राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समितिका पूर्वअध्यक्ष रामबृज धोवीले स्वागत मन्तव्य राख्दै छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए।
कार्यक्रममा गायिका स्वीकृति राजवंशीले छठ महिमासम्बन्धी गीत प्रस्तुत गरेकी थिइन्। त्यसैगरी कनकाई–९ का पूर्ववडाध्यक्ष प्रेमप्रसाद राजवंशी, इलाका प्रहरी कार्यालय घैलाडुव्वाका इञ्चार्ज विकास भट्टराई तथा घैलाडुव्वा बजार व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोविन्द प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन समितिका सल्लाहकार कृष्णबाबु शर्माले गरेका थिए।
छठ पूजा सम्पन्न गर्न उमेश कर्णको अध्यक्षतामा घैलाडुव्वा छठ पूजा समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा दीपक चौधरी, सचिवमा बरुण साह, सहसचिवमा पार्वती चौधरी र कोषाध्यक्षमा राजेश ठाकुर रहेका छन्।
त्यस्तै सदस्यहरूमा कैलाश शाह, प्रमोद शाह, शंकर शाह, सचिन शाह, विकास शाह, दिनेश चौधरी, श्याम चौधरी, रवीन्द्र चौधरी, शोझा ठाकुर, भुवन ठाकुर, टेकनारायण हजाम, प्रवेश चौधरी, राहुल शाह, नारायण चौधरी, जयकरण मण्डल र दीपा चौधरी रहेका छन्।
अध्यक्ष कर्णले बिरिङ नदी किनारमा आयोजना हुने छठ पूजामा सहभागी भई पर्वलाई सफल बनाउन सबै भक्तजनलाई आग्रह गरेका छन्।