विराटनगर । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सोमबार आंशिक बदली हुने भएको छ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेशका तराई क्षेत्रसहित अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा अहिले तुवाँलो लागेको छ भने राति तराई, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
देशभरको मौसममा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कर्णाली प्रदेशसहित हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
सोमबार बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। ती प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा समेत आंशिक बदली हुने महाशाखाले जनाएको छ।