काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यी खेलले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता निर्धारण गर्नेछ ।
आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन् । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ भने कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको छ ।
अंक तालिकामा चितवन चौथो र कर्णाली सातौँ स्थानमा छन् । चितवन आजको खेल जित्दै आफ्नो स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ । कर्णाली भने प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।
आजै हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
काठमाडौं पनि प्लेअफमा पुगिसकेको छ । अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंका लागि आजको जितले माथिल्लो वरीयतामा उक्लिने अवसर दिनेछ । पोखरा भने तालिकाको पुछारमा छ । टोली प्रतियोगिताको अन्तिम खेल जितेर प्रतिष्ठा जोगाउने प्रयासमा हुनेछ ।
लिग चरणको अन्त्यसँगै प्लेअफमा पुग्ने चार टोलीको स्थान र आगामी प्रतिस्पर्धाको समीकरण स्पष्ट हुनेछ । शीर्ष दुई स्थानमा रहेका टोलीले पहिलो क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।