Monday, 16 November 2026
Suryodaya Online
३० कात्तिक २०८३, सोमबार
विज्ञापन

छठ पर्वको संरक्षणमा सबैको साझा दायित्व छ : मुख्यमन्त्री कार्की

Suryodaya Online TV

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

उनले छठलाई आस्था, निष्ठा, त्याग र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको विशिष्ट सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा व्याख्या गरेका छन्। सूर्यदेवको उपासना र छठी माताको आराधनामा समर्पित यस पर्वले मानव जीवन र प्रकृतिबीचको सम्बन्धलाई उजागर गर्नुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान भएको नेपाली समाजमा छठ पर्वले विविधताबीच एकता, सहिष्णुता र पारस्परिक सम्मानको भावना बलियो बनाउने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन्।

मौलिक चाडपर्व सामाजिक तथा सांस्कृतिक पहिचानका अमूल्य सम्पत्ति भएकाले तिनको संरक्षण र संवर्धन गर्नु सबैको साझा दायित्व भएको उनले बताएका छन्।

कोशी प्रदेश सरकारले प्रदेशभित्रका सबै जातजाति, धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान तथा संरक्षण गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण र समावेशी समाज निर्माणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

छठ पर्वले नेपालीबीच प्रेम, सद्भाव, एकता र सहकार्यको भावना अभिवृद्धि गर्दै शान्तिपूर्ण तथा समृद्ध समाज निर्माणमा प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private