Sunday, 15 November 2026
Suryodaya Online
२९ कात्तिक २०८३, आइतबार
विज्ञापन

रास्वपाका २० नेता ११ दिने चीन भ्रमणमा, सांसदहरूको जम्बो टोली आज प्रस्थान गर्दै

Suryodaya Online TV

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आज चीन भ्रमणमा जाने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन जान लागेको प्रतिनिधिमण्डलमा पार्टीका पदाधिकारीसहित १६ सांसद सहभागी छन् । टोलीले चीनमा ११ दिन बिताउनेछ ।

भ्रमण टोलीमा महामन्त्री आचार्य, सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी छन् ।

त्यस्तै सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा टोलीमा सहभागी हुँदैछन् ।

टोलीले चीनका बेइजिङ, हाङचोउ र सिचुवानलगायत सहरको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चीनले प्रविधि, नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ तथा औद्योगिक विकासमा हासिल गरेका उपलब्धिबारे अध्ययन गर्ने कार्यक्रम छ ।

टोली सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख डा. आनन्दबहादुर चन्दले चीनको प्रविधि र अनुभवलाई नेपालको कृषि, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा, औद्योगिक उत्पादन तथा उद्यमशीलतामा उपयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बताए ।

त्यस्तै, अर्का टोली सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल र चीनबीच आपसी समझदारी बढाउनुका साथै आर्थिक, प्राविधिक र विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेट गरेको थियो । आज बिहान ९ बजे पार्टी प्रवक्ता जगदीश खरेलले विमानस्थलबाट टोलीलाई बिदाइ गर्ने कार्यक्रम छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private