डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार अधिकारीलाई


७ श्रावण २०८०, आईतवार १५:३५ मा प्रकाशित

झापा । प्रेस सेन्टर नेपाल झापा शाखाले यस वर्षको डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ ।

बिर्तामोडमा रहेको गौरीशंकर स्मृति प्रतिष्ठानको कार्यालयमा आइतबार आयोजित समारोहका बीच पत्रकार अधिकारीलाई प्रदेश सरकारका मन्त्री राजेन्द्र कार्कीले उक्त पुरस्कार प्रदान गर्नु भएको हो ।

झापाको भद्रपुरबाट प्रकाशित हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारी अढाई दशकदेखि पत्रकारितामा सक्रिय रहनु भएको छ । उहाँलाई २१ हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

प्रमुख अतिथि प्रदेश सरकारका मन्त्री कार्कीले परिवर्तनले थुप्रै अधिकार प्राप्त गरे पनि संघीयतालाई उल्ट्याउन घोषित तथा अघोषित प्रयास हुन थालेकाले पत्रकारहरुले खबरदारी गर्नु पर्ने बताउनु भयो ।

पत्रकार बिमल लामिछानेले देबकुमार आचार्य डी कौडिन्यको योगदानको चर्चा गर्दै पत्रकारिताका माध्यमबाट जनआवाज बोल्दा उहाँलाई मारिएको बताउनु भयो । डी कौडिन्य अब्बल लेखनीय क्षमता भएका निष्ठावान पत्रकारका रुपमा अग्रज पत्रकार सुब्रत न्यौपानेले चित्रित गर्नुभयो ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष बिबेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ, पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापाका बिभिन्न पत्रकारजन्य संघ/संगठनका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here