काठमाडौं । आस्था, श्रद्धा र निष्ठाको पर्व छठ आज देशभर भक्तिभावका साथ मनाइँदैछ । छठ पर्वको मुख्य दिन आज व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन् ।
चार दिनसम्म विभिन्न विधि पूरा गरेर मनाइने छठ पर्वको आज तेस्रो दिन हो । कात्तिक शुक्ल चतुर्थीका दिन नहाय–खाय विधिबाट सुरु भएको पर्व शनिबार खरना विधिसँगै अघि बढेको हो । खरनाका दिन व्रतालुले दिनभर उपवास बसेर साँझ सखरबाट बनाइएको खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गरेका थिए ।
आज षष्ठी तिथिका दिन व्रतालु बिहानैदेखि निराहार व्रत बसेका छन् । साँझ सूर्यास्तको समयमा नदी, पोखरी तथा जलाशयमा पसेर सूर्यदेवलाई अर्घ्य दिने परम्परा छ । यसका लागि व्रतालुले बाँसका ढाकी, नाङ्लो र सुपमा विभिन्न फलफूल, ठकुवा, भुसुवा, नरिवल, उखु, केरा, स्याउ, अदुवालगायत पूजा सामग्री सजाएर घाटमा लैजाने गर्छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालु रातभर जाग्राम बस्ने गर्छन् । भोलि बिहान कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व विधिवत् समापन हुनेछ । बिहानको अर्घ्यपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत तोड्ने परम्परा छ ।
छठ पर्वमा सूर्यदेवसँगै षष्ठी माताको पूजा आराधना गरिन्छ । सूर्यलाई सृष्टि, जीवन र ऊर्जाको स्रोतका रूपमा मानेर पूजा गर्ने धार्मिक मान्यता छ । छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य दिने गरिन्छ । यसले जीवनमा सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण हुने धार्मिक विश्वास छ ।
छठ पर्वको उत्पत्तिबारे विभिन्न पौराणिक कथन प्रचलित छन् । महाभारतमा उल्लेख भएअनुसार पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीले आफ्नो परिवारको रक्षा र अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेकी थिइन् । त्यही समयदेखि छठ मनाउने परम्परा सुरु भएको जनविश्वास छ ।
त्यस्तै सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको उल्लेख छ । व्रतको प्रभावले उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको धार्मिक मान्यता छ । भगवान् श्रीकृष्णका पुत्र साम्बले कुष्ठरोगबाट मुक्ति पाउन सूर्यदेवको आराधना गरेको कथासमेत छठ पर्वसँग जोडिएको छ ।
छठका अवसरमा व्रतालुले शुद्धता र पवित्रतालाई विशेष ध्यान दिने गर्छन् । यस पर्वमा लसुन, प्याजलगायत तामसी भोजन त्यागेर सात्विक आहार ग्रहण गर्ने चलन छ । पूजामा प्राकृतिक फलफूल र बाँसबाट बनेका सामग्री प्रयोग गरिन्छ ।
२०४६ सालअघि तराई–मधेसका सीमित क्षेत्रमा मात्र बढी प्रचलित छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा गाउँमा छठको रौनक देखिएको छ । काठमाडौंमा गुह्येश्वरी, गौरीघाट, गहनापोखरी, नागपोखरी र कमलपोखरीलगायत स्थानमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ । वाग्मती, नख्खु र विष्णुमती नदी किनारमा पनि घाट निर्माण गरी पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सामूहिक एकताको पर्वका रूपमा समेत छठको महत्त्व बढ्दै गएको छ । जातीय तथा सामुदायिक सीमाभन्दा माथि उठेर विभिन्न समुदायका मानिस सहभागी हुने भएकाले छठले आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देशसमेत दिने गरेको छ ।