कन्काई पुलमा बम राख्ने अभियुक्त सार्वजनिक


२० असार २०७६, शुक्रबार २०:२० मा प्रकाशित

झापा ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत कन्काई पुलमा गत बैशाख २९ गते प्रेसर कुकुर बम राखेर सर्वसाधारणलाई आतंकीत बनाएको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न मितिमा बेग्ला बेग्लै स्थानबाट पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका १का ४२ वर्षीय सञ्जय खरेल,हल्दिबारी गाउँपालिका ७ का २७ वर्षीय दीपेश न्यौपाने,शिवसताक्षी नगरपालिका १०का ६४ वर्षीय रामचन्द्र चौहान,मोरङ उर्लाबारी नगरपालिका १का १९ वर्षीय मनिष माझी र संखुवासभा खाँदबारी नगरपालिका ८ का २१ वर्षीय कमल कोइराला रहेका छन् ।

पुलमा भेटीएको प्रेसर कुकर बमसंगै सुगौली सन्धिमार्फत नेपालले गुमाएको भूमि फिर्ता,२०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अंगिकृत नागरिकता फिर्ता, भ्रष्टाचारीलाई कारबाही, संघीयता खारेज लगायत विभिन्न मागहरु लेखीएको गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पर्चासमेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीले जानकारी दिनु भयो ।

पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थ तथा संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको प्रहरीले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय झापाले १८ वटा विभिन्न कम्पनीका मोटरसाइकलसहित सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा गौरादह नगरपालिका २ का १९ वर्षिय विजय चौधरी,गौरादह नगरपालिका ८का २२ वर्षिय रोविन राजवंशी, बाह्रदशी गाउँपालिका ६का १९ वर्षिय नगेन्द्र चौधरी,बाह्रदशी गाउँपालिका ७ का १९ वर्षिय बिनोद मुर्मु,कमल गाउँपालिका १ का २५ वर्षिय विष्णु चौधरी,शिवसताक्षी नगरपालिका १का३५ वर्षिय प्रेमबहादुर रिमाल र शिवसताक्षी नगरपालिका ५का २५ वर्षिय रमेशकुमार ताजपुरिया रहेका छन् ।

दमक,माइधार,झिलझिले,राजगढ र बिर्तामोड एरियाबाट लुकाई–छिपाई विक्री–वितरण गर्न राखिएको अवस्थामा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार मैनालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here