काठमाडौँ । सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको जनाएको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधान कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले भनिन्, ‘भूमिहीन अति विपन्न दलित समुदायले आवासका लागि जमीन पाउँछन् । यसका लागि सरकारले आवश्यक नीति र नियम तयार गर्दैछ । यो छिट्टै आउँछ ।’
उनले गुठीलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने नीति सरकारको रहेको चर्चा गर्दै यसको भावना र मर्मलाई जीवन्त बनाइराख्न सरकार प्रतिवद्ध रहेको बताइन् । मन्त्री अर्याललले भनिन्, ‘कमैया तथा हलिया पुनःस्थापना कार्य सम्पन्न भएको छ । उनीहरुको आम्दानी बढाउन आयआर्जनका कार्यक्रम सञ्चालनमा रहेका छन् ।’
उनले भूउपोग नीति तथा ऐन संसदमा नै विचाराधीन रहेको, ३६५ स्थानीय तहका भूउपयोग नक्सा तयार भएको, मालपोत प्रशासन आधुनिक सूचना प्रविधिमा सञ्चालन भएको जानकारी दिइन् । मन्त्री अर्याललले जनताको प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयलाई आर्थिक अभाव हुन नदिइने जानकारीसमेत दिइन् । कति जमीन उपलब्ध गराइने हो भन्ने बारे भने सार्वजनिक भएको छैन ।





