भारतबाट आउने तरकारीको विषादी परीक्षण रोकियो


२० असार २०७६, शुक्रबार १७:०६ मा प्रकाशित

काठमाडौँ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ ।

आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए । ‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास गराउने र यथासिघ्र प्रयोगशाला बनाउने क्याविनेट निर्णय भएको छ’ यादवले सेतोपाटीसँग भने । यसअघि आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलमा भइरहेको विषादी चेकजाँचबारे चासो व्यक्त गरेको थियो । ‘हामीले नेपाल सरकारका उच्च अधिकारीहरूलाई भेटेर र लिखित रूपमै आफ्नो कुरा भनेका छौं,’ दूतावासका प्रवक्ता अभिषेक दुवेले सेतोपाटीसँग भने ।

स्रोतका अनुसार भारतले विषादी परीक्षणका दुइटा कुरामा आपत्ति जनाएको थियो । पहिलो, सीमा नाकामा पर्याप्त उपकरण र जनशक्ति नभएकाले विषादी जाँच्न समय लाग्ने भएकाले धेरै तरकारी र फलफूल सडेका थिए । भारतको अर्को आपत्ति नेपालबाट जाने तरकारी र फलफूलमा भारतले नियमित विषादी चेकजाँच गर्दैन भने नेपालले किन गर्ने भन्ने थियो ।

सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौती देखिएको थियो । हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै हाल फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्थ्यो । भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता थियो ।

कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here