काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने भएको छ। केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित अन्य प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।