सर्लाहीकाे मिलनचाेकमा दिनदहाडै लुटेरा समूहद्वारा गाेली प्रहार


२ कार्तिक २०७९, बुधबार १९:५४ मा प्रकाशित

सर्लाही । सर्लाहीकाे बागमती नगरपालिका-१, मिलनचाेकमा रहेकाे सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनकाे सेवा केन्द्रका प्रमुखमाथि लुटेरा समूहले गाेली प्रहार गरेकाे छ ।

लुटेरा समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ गाेली प्रहार गरेका हुन् । बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेराले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए ।

प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताए । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका छन् ।

लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भइनसकेकाे सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिनुभयो ।

तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेका घाइते कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि एम्बुलेन्समा काठमाडाैं पठाइएकाे छ ।

हेलिकप्टर मगाईएपनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाइएकाे हाे । लालबन्दी-२ जुटपानी निवासी कार्कीलाई ४ गाेली लागेपनि शरिरकाे संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएकाे र उहाँ बाेलिरहेकाे सरस्वती अस्पतालका सञ्चालक डा. राजिब साहले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here