हरि राना धानबालीमा लाग्ने धानजस्तै देखिने ‘सामा’ हुन्ः देवराज घिमिरे


२ कार्तिक २०७९, बुधबार २०:०६ मा प्रकाशित

झापा । अहिले आफूसँग प्रतिस्पर्धामा आएका हरि राना पार्टीभित्रको ‘सामा’ भएको नेकपा एमालेका झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले बताउनुभएको छ ।

बुधबार बिर्तामोडमा आयोजित सम्पादकसँग उम्मेदवार कार्यक्रममा उहाँले धानबारीमा उम्रने सामा झारको उदाहरण दिँदै यस्तो बताउनुभएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका घिमिरेले धानबारीमा पलाउने सामा सुरुका दिनमा धान जस्तै देखिने र धान भन्दा राम्रो फस्टाएर आउने तर पछि फल दिने बेलामा मात्र आफ्नो असली रुप देखाउने बताउनुभयो ।

रानालाई आफूले नै राजनीति सिकाएको र यस अघिको कार्यकालमा अर्जुनधाराको मेयर बनाउन मद्धत गरेको बताउँदै उहाँले अहिले आएर पदको लोभमा एमालेकै बिरुद्धमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेको बताउनुभयो । पार्टी भित्र गलत आचरण देखाउने व्यक्तिलाई जनताले माया नगर्ने र आफ्नो जित सुनिश्चित हुने उहाँको दाबी थियो ।

नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ ‘क’ का प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले आफ्नो जित सुनिश्चित भएको बताउनुभएको छ ।

उहाँले आफू प्रतिस्पर्धी बिनाको उम्मेदवार भएको महसुस भएको समेत बताउनुभयो । गठबन्धनले २ नम्बर क्षेत्रमा उम्मेदवार नपाएर ३ नम्बर क्षेत्रको मान्छे खोजेर ल्याएर उम्मेदवार बनाएको बताउँदै उहाँले आफू स्थानीय भएकै नाताले पनि जित्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका तर्फबाट झापा क्षेत्र नं. २ ‘ख’ का प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले झापामा स्वतन्त्र उम्मेदवार प्रतिको रुची नभएको बताउनुभएको छ । उहाँले प्रतिनिधी सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारले जितेपनि स्थानीय तहमा जस्तो नहुने बताउनभयो । उहाँले तयारी राम्रो भएकाले आफूले चुनाव जित्ने दाबी गर्नुभयो ।

नेकपा एमाले र राप्रपाको संयुक्त चुनावी प्रचार समितिले कार्यक्रमको आयोजना गरेको थियो । झापामा एमाले र राप्रपा तालमेलमा चुनावी मैदानमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here