एमालेको बहुमत आउनबाट कसैले रोक्न सक्दैनः एमाले अध्यक्ष ओली


२ कार्तिक २०७९, बुधबार १८:१६ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउनबाट कसैले रोक्न नसक्ने बताउनु भएको छ ।

झापाको क्षेत्र नं १ को मेचीनगरमा एमाले र राप्रपाले संयुक्त रुपमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओलीले एमालेले मत पाउन कुनै समस्या नरहे पनि चुनावमा अनेक जालझेल हुने संभावना भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

सत्ता गठबन्धनले सुरक्षाकर्मी र कर्मचारी दुरुपयोग गरेर बुथ कब्जा गर्ने र मतपेटिका साट्नेसम्मका काम हुनसक्ने भन्दै कार्यकर्तालाई सचेत गराउनुभयो ।

राप्रपाले देशको माया गरेकाले एमालेले सहयोग गरेको उहाँको भनाइ थियो । एमाले अध्यक्ष ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

उहाँले बारामा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले फ्रि-भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाउनुभयो ।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले युवालाई फ्रि-भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्यकर्तालाई सूर्यमा भोट नहाले ४ मंसिरपछि पार्टीमा भेट नहुने चेतावनी दिनुभयो । उहाँले राप्रपाका कार्यकर्ताले इमान्दारी नदेखाए परिणाम राम्रो नहुने चेतावनी दिनुभएको हो ।

कार्यक्रममा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अग्नि खरेल, प्रदेश सभाका उम्मेदवार रविन कोइराला, प्रदेश सभाकै राप्रपाकी उम्मेदवार सविना बजगाईंले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here