झापा । दमक नगरपालिकाका वडा सदस्यहरुले संघीय र प्रदेश सांसदहरुले जस्तै आफूहरुलाई पनि बजेट विनियोजन गर्न माग गरेका छन् ।
स्थानीय तहबाट वडा सदस्यलाई कम्तिमा १० लाख रुपैयाँ बार्षिक बजेट विनियोजन गर्न उनीहरुले माग गरेका हुन् ।झापामा आइतबारबाट सुरु भएको दमकको पाँचौ नगर सभाको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा वडा सदस्यहरुले आगामी बर्षमा वडा सदस्यलाई खर्च गर्न पाउने अख्तियारीसहितको छुट्टै बजेट र ल्यापटपको माग गरेका हुन् ।
वडा नम्बर ७का सदस्य श्याम कार्कीले वडागत बजेटले मात्र स्थानीय जनताको माग सम्बोधन गर्न नसकेको बताउनु भयो ।उक्त मागलाई मेयर तथा सभाका अध्यक्ष रोमनाथ ओलीले वडा सदस्यलाई छुट्टै बजेटको माग उपयुक्त नभएको बताउनु भयो । उहाँले वडा गत विकासका लागि वडालाई करोडभन्दा बढीको बजेट विनियोजन गरेकाले सोही बजेटबाट सबै जनताको माग सम्बोधन हुनुपर्नेमा जोड दिनु भयो ।
सरकारले असार १० गते भित्र स्थानीय तहले बार्षिक बजेट तथा कार्याक्रम पेश गरिसक्नु पर्ने दिएको निर्देशनलाई पालना गर्दै झापामा रहेका १५ वटा स्थानीय तह मध्ये दमक नगरले सवै भन्दा शुरुमा नगरसभा शुरु गरेको छ ।प्रस्तावको रुपमा उपमेयर गीता अधिकारीले पेश गर्नु भएको ७ वटा नीति तथा कार्यक्रम र बजेट आगामी १० गते पारित गर्ने सभामा जानकारी दिइएको छ ।





