१ लाख ५० हजार घुस लिने नापी सर्वेक्षकसहित ३ जनामाथि मुद्धा दायर


८ असार २०७६, आईतवार १९:४८ मा प्रकाशित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपानेसहित ३ जना विरुद्ध विषेश अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई सेवाग्राहीसँग एक लाख पचास हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा आयोगले नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । जग्गा हाल साविक गर्ने भन्दै बिष्णु कुमार केसीलाई मध्यस्तकर्ता बनाएर नापी सर्वेक्षक न्यौपाने र नायव सुब्बा काफ्लेले घुस लिएका थिए ।

अख्तियारले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ– ‘श्यामकृष्ण न्यौपाने र महेश काफ्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टी हुन आएकोले निजहरूलाई बिगो रू एक लाख पचास हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र जरिवाना हुने र मध्यस्तकर्ता बिष्णु कुमार केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि भएको हुँदा निज बिष्णु कुमार के.सी.लाई बिगो रू १ लाख ५० हजार कायम गरी ऐनको दफा २२ को आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here