मंसिर ४ को चुनावका बारेमा मत सर्वेक्षण गर्न नपाइने, गरिए कारबाही हुने


२७ आश्विन २०७९, बिहीबार १०:५७ मा प्रकाशित

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि मत सर्वेक्षण गर्न नपाइने भएकाे छ ।
निर्वाचन आयोगले उम्मेदवार तथा पार्टी केन्द्रित भएर उनीहरुले पाउने मतबारे सर्वेक्षण गर्न राेक लगाएकाे हाे ।
आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उमेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आयाेगले निर्देशन पनि दिएकाे छ ।
आचारसंहिताविपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय रुपमा चुनाव सम्पन्न गराउने कार्यमा नकारात्मक प्रभाव पर्ने भन्दै आयाेगले साे निर्देशन दिएकाे हाे ।
मंसिर ४ काे चुनावलाई लिएर कसैले मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारबाही हुने आयाेगले जनाएकाे छ ।
आयाेगका अनुसार आचारसंहिता विपरित मत सर्वेक्षण गर्नमा १ लाख रुपैयाँसम्मकाे कारबाही हुनेछ ।
उमेदवारी दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उमेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।
मंसिर ४ गते हुने चुनावका लागि आयाेगले बुधबार उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गरिसकेकाे छ । आयाेगले बुधबार नै दलहरुलाई चुनाव चिन्ह दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here