राष्ट्रिय खेलकद प्रतियोगिताः महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको लगातार दोस्रो जित


२६ आश्विन २०७९, बुधबार १७:०८ मा प्रकाशित

पोखरा । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ । पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर ४० मात्र जोड्न सक्यो ।

प्रदेश १ का लागि लकिता राजवंशी र सानु राजवंशीले समान ११/११ रन बनाए । उसका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिस क्लबका लागि हिरन्माई रोयले ३ तथा कविता जोशी, कविता कुँवर र सबनम राईले समान १/१ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ३ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।

पुलिसका लागि सम्झना खड्काले ६० रनको अर्धशतकीय ईनिङ खेले । जितसँगै पुलिस ४ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै बुधबार नै भएको अर्को खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनले पराजित गरेको छ ।

लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको कणर्ालीले ८ ओभर ३ बलमा अलआउट हुँदै २३ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । किरन कुँवरले बनाएको ५ रन नै सर्वाधिक रन रह्यो ।

त्यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १ सय २७ रन जोडेको थियो । लुम्बिनीका ३१ तथा सरस्वती जीएमले ३० रन बनाइन् । जितसँगै लुम्बिनी ३ अंक जोड्दै समूह ’बी’ को दोस्रो स्थानमा कायमै रहेको छ । जित विहीन कर्णाली प्रदेश भने २ खेलमा अंक विहीन पुछारमा रहेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here