झापा । झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराउनु भएको हो ।
सोही क्षेत्रबाट युग पाठकले स्वतन्त्री उम्मेदवारी दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट मनोनयन दर्ता गराउनुभएको छ । एमालेका अग्निप्रसाद खरेलले पनि झापा १ बाटै निर्वाचन लड्नका लागि मनोनयन पत्र दर्ता गराउनु भएको हो ।
झापाको क्षेत्र नं ३ बाट एमालेको समर्थनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै सोही क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिनुभएको हो ।
झापाको क्षेत्र नं २ बाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले मनोनयन दर्ता गराउनु भयो । सत्ता गठबन्धनका तर्फबाट आइतबार नै एमाले त्यागेका हरिकुमार रानाले मनोनयन दर्ता गराउनु भयो । उहाँले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गर्दै मनोनयन दर्ता गराउनु भएको हो । सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा कानुन व्यवसायी स्वागत नेपालले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
झापाको क्षेत्र नं ४ बाट एमालेका तर्फबाट एलपी साँवाले मनोनयन दर्ता गराउनु भयो । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका देउकुमार थेबेले मनोनयन दर्ता गराउनु भएको हो ।





