झापा । हिन्दू धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ ।
आफूभन्दा ठूला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ ।
टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत उत्तम रहेको जनाएको छ । टीका लगाउनुअघि देवी विसर्जन गर्ने गरिन्छ ।
दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।