काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गर्नुभएको छ ।
बडादशैं २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण गर्नुभएको हो ।
राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।