काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४१ औं वार्षिक महासभामा सम्वोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
क्यानडाको मड्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुपहवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो ।
आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताउनुभयो ।
उड्डययन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिवद्धता रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको बिकल्प नभएको भन्दै उहाँले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउनुहुँदै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजार आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोरसाचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षासूचीमा राखिरहनुको औचित्य नरहेको बताउनुभएको थियो ।





