झापा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय झापाले आइतबारदेखि छनोट प्रक्रिया शुरु गर्ने भएको छ ।
गत भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीमा भर्ना हुन चाहने नेपाली नागरिकका लागि प्रहरी प्रधान कार्यालयले दरखास्त खुलाएको थियो ।
दरखास्त दिने अवधिमा झापामा ६ हजार ९ सय ५८ जनाले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
जस्मा महिला १ हजार ८ सय ७५ र पुरुष ५ हजार ८३ जनाले आवेदन दिएका छन् । यस अघिका निर्वाचनमा म्यादी प्रहरीमा भइसकेका पुरुष १ हजार ३ सय ९४ र महिला ६ सय २८ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पहिला नेपाली सेनामा काम गरिसकेका ३५ पुरुष, नेपाल प्रहरीमा काम गरिसकेका १८ पुरुष र सशस्त्र प्रहरीमा काम गरिसकेका १० पुरुषले म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका छन् । उनीहरूको छनोट प्रक्रिया आइतबारदेखि हुने झापाका प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो ।
यसपालीको निर्वाचनमा देशभर १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाल प्रहरीले आवेदन खुलाएको थियो ।
जस्मा झापामा मात्र ३ हजार बढीको संख्यामा म्यादी प्रहरीको आवश्यकता पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएको स्थानीय तहको निर्वाचनमा झापामा २९ सय म्यादी प्रहरी भर्ना भएका थिए ।





