संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाटै भयोः प्रचण्ड


७ आश्विन २०७९, शुक्रबार १६:०६ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताउनुभएको हो ।

उहाँले नागरिकता बिधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताउनुभयो । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उहाँको भनाइ छ । उहाँले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राख्नुभयो । देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उहाँले एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सवै सचेत हुनुपर्ने उहाँको भनाइ छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राख्नुभयो ।

उहाँले तीन खम्वे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको बिकास गर्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here