कर्णाली । कर्णाली प्रदेशका तीन लाख घरमा खरका छाना हटाएर टिन लगाइने भएको छ । कर्णाली प्रदेश सरकारले नागरिकका खरका छाना हटाएर टिन लगाउनेगरी आर्थिक बर्ष ०७६/७७ मा बजेटको व्यवस्था गरेको छ ।
कर्णाली प्रदेशमा अहिले पनि तीन लाख परिवार खरको छानामुनि रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जनाकारी दिए । आगलागी, हावाहुरी जस्ता कारण ती खरका छानामा उच्च जोखिम हुने भएकाले प्रदेश सरकारले विस्थापित गर्ने योजना ल्याएको मन्त्री ज्वालाले बताए ।
‘यहाँ प्रदेशमा ३ लाख छाना खरका छन्, ति सबै घरलाई क्रमशः टिनको छानामा परिणत गरिन्छ,’ मन्त्री ज्वालाले भने, ‘एकै वर्षमा सबै खरका छानालाई टिनका छानामा रुपान्तरण गर्न नसकिए पनि क्रमश काम गरिन्छ ।’
यो वर्ष प्रदेशका १० वटा जिल्लाका एक/एक वटा स्थानीय तहमा खरका छाना सम्पूर्ण रुपमा विस्थापित गरिने उनले बताए । उनका अनुसार एक वर्षमा कम्तिमा एक हजार खरका छाना विस्थापित गरेर टिनको छाना लगाइने छ ।
प्रदेश सरकारले यसका लागि सामाजिक सुरक्षा कार्यक्रममार्फत २५ करोड, ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामाजिक सुरक्षा कार्यक्रममा एक जिल्ला एक नमुना बस्ती पनि बनाइने छ । छरिएर रहेका तथा प्राकृतिक जोखिममा रहेका तथा विपद्बाट विस्थापित भएका वस्तीका परिवारलाई उचित ठाउँमा एकिकृत गरेर बसाल्न यस्तो योजना ल्याइएको मन्त्री ज्वालाले जानकारी दिए ।





