झापा । झापाको बिर्तामोडमा १२ वर्षअघि स्थापना भएको पाथीभरा इन्जिनियरिङ कलेजले पूर्वाञ्चल विश्वविधालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
सम्बन्धन पाएसँगै दशैंतिहारको बिचबाट भर्ना खुला गर्ने कलेज प्रशासनले जनाएको छ । आठ वर्षअघि इन्जिनियरिङ काउन्सिलबाट सञ्चालन अनुमति पाएको सो कलेजले १२ वर्षको अन्तरालमा ठूलो क्षति व्यहोर्नु परेको छ ।
कलेजका सञ्चालक युवराज प्रसाईले करोडौं लगानी गरेर बसेको वर्षौपछि सम्बन्धन पाएको र अब चाँडैं पठनपाठन शुरु गर्ने बताउनुभयो । उहाँकै शब्दमा १२ बर्षपछि खोलो फर्किएको छ ।
उहाँले १२ वर्षमा कलेजभित्रका धेरै सामग्रीमा समेत क्षति भएको बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली भदौमा झापा आएका बेला कलेजको स्थलगत अवलोकनमा पुग्नुभएको थियो । एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले कलेजले अवलोकनका लागि अध्यक्ष ओलीलाई त्यहाँ पुर्याउनुभएको थियो ।
कलेज व्यवस्थापनले भने प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्ता पक्षका नेता तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।
अर्जुनधारा ११ मा निर्माण गरिएको पाथीभरा कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने कलेजका प्रमुख कार्यकारी अधिकृत अनुप पराजुलीले बताउनुभयो ।
कलेजले सबै विषयमा ४८/४८ जना विधार्थी पढाउन पाउनेछ । २७ कठ्ठा जमिनमा निर्माण भएको कलेजमा धेरै संरचनाहरु विग्रिएका कारण ती सामान पुनः बनाउनुपर्ने अवस्था रहेका पराजुलीले बताउनुभयो ।





